काठमाडौं । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण बढेपछि बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गरेको हो ।
अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएपछि सरकारले नयाँ आदेश जारी गरेको मन्त्री कार्कीले जानकारी दिए । सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।
समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।