बिहीबार , असार १९ गते २०८२ Jul 03 2025 Thursday
images
images

कोरोना कहर

एडीबीको प्रक्षेपण : खोप अभियानले नेपालको आर्थिक वृद्धिदरमा सुधार


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/800
    असोज ६, २०७८ बुधबार
    एडीबीको प्रक्षेपण : खोप अभियानले नेपालको आर्थिक वृद्धिदरमा सुधार

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने प्रक्षेपण गरेको छ । एडीबीद्वारा बुधबार प्रकाशित 'एडीबी आउलुक-२०२१' मा सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको छ । यो वर्ष २०२१ मा २.३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको हो ।

    तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३.१ प्रतिशत र आगामी वर्ष (२०२२) ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । 

    'हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,' एडीबीको नेपाल निर्देशक अरनौड काउचोइसले भने, 'कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरुका कारणले २०२१ मा क्रमिक आर्थिक सुधारलाई उल्ट्याउन सक्छ।'

    प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषि क्षेत्रमा वृद्धि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

    स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरु र प्रभावित व्यवसायहरुका लागि सहुलियत प्रदान गरिएकोले अर्थतन्त्र सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ । थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरुका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरु बढेका कारण आर्थिक वृद्धिमा सहयोग पुग्ने औंल्याइएको छ ।

    'ट्रेकिङ रुट र आरोहण खुलेसँगै विदेशी पर्यटक आगमन बढ्नसक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुरेन्ट, यात्रा र पर्यटन कोभिड-१९ महामरीको पूर्वअवस्थामा फर्कन केही समय लाग्‍नेछ,' प्रतिवेदनमा उल्लेख छ । 

    प्रतिवेदनमा २०२२ मा मूल्यवृद्धि ५.२ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३.६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्यवृद्धि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्यवृद्धि बढ्नसक्ने अनुमान छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij