काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ । बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिएका हुन् ।
बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ । अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छु, परराष्ट्र मन्त्रालयले भनेको छ, भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।
नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, सरकार आफैँले खरिद गरेको १० लाख डोज, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप आइसकेको छ ।
एक वर्षअघि नै सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो। त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ । तर बाँकी १० लाख डोज खोप सिरमले अहिलेसम्म दिएको थिए । सिरमले नदिएको त्यही खोप अर्को साता पठाउने जानकारी क्वात्राले दिएका हुन् ।