बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

संस्कार-संस्कृति

हर्षोल्लासका साथ होली पर्व मनाइँदै, पहाडमा आज सार्वजनिक बिदा


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7378
    चैत ११, २०८० आइतबार
    हर्षोल्लासका साथ  होली पर्व मनाइँदै, पहाडमा आज सार्वजनिक बिदा

    काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

    काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउँँछन् ।

    “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उनी भन्छन्, “यो पर्व मन नपराउने कमै छन् ।” फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।

    बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो ।

    “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ”, उहाँ भन्नुहुन्छ, “काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।” हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् ।

    रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ ।

    सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ । नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए ।

    “होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब”, उहाँ भन्नुहुन्छ, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।” होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाए । 

    यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij