काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको कार्यालय (बालुवाटार) स्रोतका अनुसार बैठक अपराह्न ४ बजे बस्नेछ ।
आज बैठकबाट ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ फिर्ता गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । अध्यादेश फिर्ता नलिँदा मन्त्रिपरिषद् विस्तारमै समस्या परेकाले फिर्ता लिएर मार्गप्रशस्त गर्ने तयारी गरिएको हो ।
सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये जनता समाजवादी पार्टी (जसपा)ले दल विभाजनसम्बन्धभी अध्यादेश सक्रिय राखेरै सरकारमा जाँदा आफ्नो पार्टी फुट्न सक्ने आशंका गर्दै फिर्ता हुनुपर्ने सर्त राखेको छ ।
त्यही अध्यादेशका कारण एमालेबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि आफूविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको मुद्दाको छिनोफानो नभई आफ्ना तर्फबाट सरकारमा मन्त्री नपठाउने भनिरहेको थियो । तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण अब मन्त्रिपरिषद्मा सहभागी हुन कुनै समस्या नरहेको बताएको छ ।
स्रोतका अनुसार सत्तागठबन्धनका दलहरूबीच अध्यादेश फिर्ता लिन सहमति जुटिसकेको छ । दलविभाजनसम्बन्धी अध्यादेश फिर्ता भएपछि भोलि (मंगलबार) वा पर्सि (बुधबार) मन्त्रिपरिषद् विस्तार हुन सक्ने स्रोतको भनाइ छ ।