काठमाडौँ, १७ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेका कारण आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसले गर्दा वर्षाको सक्रियता बढेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी लगायत पहाडी भू–भागका धेरै स्थानहरू र तराईका केही भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ ।
रातको समयमा पनि देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले डुबान, पहिरो तथा अन्य प्राकृतिक जोखिमबाट सतर्क रहनु पर्ने महाशाखाले जनाएको छ । साथै, सर्वसाधारण तथा सरोकारवाला निकायलाई पछिल्लो मौसमी जानकारीको नियमित अवलोकन गर्न अनुरोध गरिएको छ ।