काठमाडौं । कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ ।
सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको छ । सबै प्रदेशमा टोलि खटाएर उक्त विवरण संकलन गरेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकरी दिए ।
सञ्जेलका अनुसार धानबालीमा नोक्सानी व्यहोरेका किसानलाई राहत दिनेबारे मन्त्रालयमा छलफल भइरहेको छ । ‘हामीले सबै प्रदेशका मन्त्रीसँग राहतबारे छलफल गर्दैं छौं,’ उनले भने, ‘अब छिटै निर्णय हुन्छ ।’
मन्त्रालयले पठाएको तथ्यांक हेर्दा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा ९३ हजार पाँच सय ७६ हेक्टरको धानबाली क्षति भएको छ ।
तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ । विशेषगरी बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही बढी प्रभावित छन् ।
सुदुरपश्चिम प्रदेशमा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुगेको छ । विशेषगरि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ ।
त्यस्तै, प्रदेश १ मा ४९ हजार ९ सय ४५, प्रदेश २ मा ४८ हजार ६ सय ८४, कर्णालीमा २२ हजार ५ सय, गण्डकीमा ८ हजार ३ सय ४ र सबैभन्दा कम बाग्मतीमा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुर्याएको छ ।
धान खेतीका लागि पकेट क्षेत्र मानिएका अधिकांश भेगमा यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पुर्याएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।
कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान २८ प्रतिशत छ । त्यसमध्ये धानको मात्रै १० प्रतिशत छ । धानमा भएको क्षतिले कुल ग्राहस्थ उत्पादनको योगदान घट्ने देखिन्छ ।
पानीमा डुबेका धानलाई बाहिर निकालेर स्टिम राइस, चिउरा बनाएर क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ ।