काठमाडौं । सोमबारबाट सकारात्मक बनेको सेयरबजार आज पनि उच्च अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा उक्लिएको छ ।
कारोबार पनि आज करिब एक अर्बले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कूल २२७ वटा कम्पनीका एक करोड ९३ हजार २२१ कित्ता सेयर ६९ हजार २०० पटक किनबेच भएका थिए । आज नेप्सेमा कारोबार भएकामध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको थियो ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । सोमबार जस्तै आज पनि सबै उपसमूहको परिसूचक हरियाली बनेको छ ।
आज छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो भने अन्य दुई कम्पनीको मूल्य पनि बढेर सर्किट विन्दुनजिक पुगेको थियो ।
विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै प्रतिकित्ता २.३७ प्रतिशतका दरले गुमाएका छन् ।
आज महालक्ष्मी विकास बैंककै सेयर सबैभन्दा धेरै ३७ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेसनल हाइड्रो पावर कम्पनीको सेयर सबैभन्दा धेरै छ लाख ७४ हजार ३९७ कित्ता तथा साहस ऊर्जाको सबैभन्दा धेरै पाँच हजार ५३२ पटक किनबेच भएको नेप्सेले जनाएको छ ।