काठमाडौं । काठमाडौंमा मदिरा व्यावसाय गर्दै आएको एक परिवारका सदस्य सम्पर्कविहीन भएका छन् ।
मिटर ब्याजमा रकम चलाएपछि बाध्य गराएर उनीहरुसँग कागज गर्नुपर्दा उनीहरुको कारोबार बिग्रन पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेपालमा विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार पुस २२ गतेदेखि सम्पर्कविहीन भएको हो ।
अग्रवाल परिवार सम्पर्कमा नआएपछि प्रहरी खोजीमा सक्रिय भएको छ । विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिबाट अर्बौँ ऋण लिएको र सो तिर्न नसकेपछि अग्रवाल परिवार काठमाडौं छाड्न बाध्य भएका हुन् ।
सोही ऋणको बोझका कारण उनीहरु घर छाडेर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अग्रवाल परिवारले घरभित्र एउटा लिखित पत्रसमेत छाडेर गएको पाइएको छ । सो पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा अग्रवाल, छोरा अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।
पत्रमा विभिन्न व्यक्तिबाट मिटर ब्याजमा रकम लिएको र सोही रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेको उल्लेख गरिएको छ ।