काठमाडौं । नेपालमा हिमपात–वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी छ ।
जसका कारण यतिबेला (शनिबार बिहान) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै आज राति प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ । तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ ।
महाशाखाको बुलेटिनअनुसार आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना बुलेटिनमा उल्लेख छ ।
त्यस दिन राति प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।