एउटा नयाँ पुस्तकको लेखकका अनुसार अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई उत्तर कोरियाका नेता किम जोन–उनसँग सम्पर्कमा रहेको बताएका छन् ।
ट्रम्पले सम्पर्कमा रहेको बताएको किम एकमात्र विदेशी नेता भएको पत्रकार म्यागी हेबरम्यानले बताएकी छन् । तर, दाबीहरू प्रमाणित गर्न नसकिएको र सत्य नहुन पनि सक्ने उनले थपे ।
सन् २०१८ मा ट्रम्पले पत्रहरू आदानप्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ बताएका थिए । तर, उनीहरू कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने सम्झौता गर्न असफल भए ।
आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण उत्तर कोरियाको अन्तर्राष्ट्रिय एक्लोपनलाई ध्यानमा राख्दा अमेरिकी पूर्वराष्ट्रपति र किमबीचको कुराकानी अत्यन्तै असामान्य थियो ।
“हामीलाई थाहै छ, (ट्रम्प)को यस सम्बन्धमा अत्यन्त सुदृढ रुचि थियो,” न्युयोर्क टाइम्सकी पत्रका हेबरम्यानले सीएनएनलाई भनिन् । यो खुलासा ट्रम्पमाथि लेखिएको उनको आउन लागेको पुस्तक ‘द कन्फिडेन्स म्यान’मा छ ।
“उनी के भन्छन् र वास्तमा के भइरहेका छन् भन्ने कुरा सधैँ ‘इन कन्सर्ट’ (एकसाथ/मेल खाने) हुँदैनन्, तर उनले मानिसलाई बताइरहेका छन् कि उनले किम जोन उनसँग कुनै प्रकारको पत्राचार वा छलफल कायम राखेका छन्,” उनले भनिन् ।
ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रमलाई रोक्ने उद्देश्यले किमसँग दुईओटा शिखर वार्ता गरेका थिए, तर असफल भएको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणहरू जारी राखेको छ ।
राष्ट्रपतिको अभिलेखको संरक्षण गर्ने सरकारी निकाय नेशनल अर्काइभ्सले गत महिना ट्रम्पबाट बरामद गरेको कागजको १५ बाकसमा रहेका कागजातहरूमध्ये किमका पत्राचारहरू पनि थिए ।
वासिंटन पोस्टका अनुसार नेशनल अर्काइभ्सले ट्रम्पको ह्वाइट हाउस रेकर्डको ह्यान्डलिङ (खटनपटन/सम्हाल्ने कार्य) को जाँच गर्न आग्रह गरेको थियो । यसमा न्याय विभागका प्रवक्ताले टिप्पणी गरेनन् ।
प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ)को समितिले छुट्टै छानबिन सुरु गरेको बताएको छ ।
सीएनएनसँगको अन्तर्वार्तामा हेबरम्यानले यो पनि भनेकी छन् कि ह्वाइट हाउसका कर्मचारीले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा आवधिक रूपमा उनको ह्वाइट हाउसको शौचालयलाई अवरोध गर्ने कागजातहरू फेला पारे ।
उनले भनिन्, कर्मचारीहरूले त्यसपछि ‘भुक्क परेका, भिजेको छापिएको काजग...नोट या अरु कागजका टुक्राहरू भेट्टाए । उनीहरू ती कागजका टुक्राहरूलाई ट्रम्पले शौचालयमा फ्याँकेको ठान्छन् । -बीबीसी