अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको काम रुसी आक्रमणको सुरुवातु भएको भन्दै बाइडेनले चेतावनीसमेत दिए ।
रुस धेरै अघि बढ्न सक्छ र युक्रेनविरुद्ध ठूलो सैन्य आक्रमण गर्न तयार छ भन्नेमा हामी अझै विश्वास गर्न सक्छौं, ह्वाइट हाउसमा सम्बोधन गर्दै उनले भने ।
रूसले अरु प्रतिबन्धसहित आफ्नो उग्रता कायम राखे अझ ठूलो मूल्य चुकाउनुपर्ने पनि उनले चेतावनी दिए। यो युक्रेनमा रुसी आक्रमणको सुरुवात हो, उनले भने, त्यसैको जवाफमा प्रतिबन्धहरु सुरु भएका छन् ।
युक्रेनमा पुटिनको सैन्य कारबाहीको प्रतिक्रियामा बाइडेनले रुसविरुद्ध अमेरिकी प्रतिबन्धहरूको पहिलो चरणको घोषणा गरेका छन् ।
प्रतिबन्ध रुसका वित्तीय संस्थाहरू, ऋण र सम्भ्रान्त परिवारलाई लक्षित गर्ने उनले बताए । यदि रूसले यो आक्रमणलाई अगाडि बढाउँछ भने, हामी थप प्रतिबन्ध लगाउन तयार छौं, उनले भने ।
पूर्वी युक्रेनमा फौज पठाउन रुसले आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाइरहेका छन् ।
अमेरिकाले पृथकतावादीको नियन्त्रणमा रहेका युक्रेनका क्षेत्रहरूमा प्रतिबन्ध लगाएको छ । उसले आफ्ना नागरिकहरूलाई त्यहाँ थप लगानी वा व्यापार नगर्न पनि आदेश दिएको छ ।
बेलायतले रुसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम २ लाई रोक्ने निर्णय गरेको छ ।
पुटिनले स्वघोषित डोनेस्क र लुगान्स्क विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि बेलायत र युरोपेली संघअन्तर्गतका देशले प्रतिबन्ध लगाउने क्रम सुरु भएको हो ।
पुटिनले युक्रेनका दुई पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएपछि तनाव झन् चुलिएको हो । उनले हस्ताक्षर गरेको आदेशमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्नेु उल्लेख छ ।