भोलोडिमिर जेलेन्स्की युक्रेनको स्वतन्त्रतामाथि रुसबाट भइरहेको गम्भीर आक्रमणको समयमा विश्वासयोग्य युद्ध नेता (कमाण्डर)का रुपमा उदाएका छन् ।
तीन वर्षअघि युक्रेनको राष्ट्रपतिमा निर्वाचित जेलेन्स्कीको विगत राजनीतिक थिएन ।
उनी राजनीतिमा नयाँ हुन्, सुरुमा उनको उम्मेदवारी केहीका लागि व्यंग्य जस्तै लागेको थियो ।
राजनीतिमा आउनुअघि उनी हाँस्य कलाकारका रुपमा सक्रिय थिए, उनले टेलिभिजन कार्यक्रमहरुमा अभिनय गरेका थिए ।
हसाउँदै आएका जेलेन्स्कीको उम्मेदवारी पनि सुरुमा केहीका लागि उनले भन्ने गरेका चुट्किला जस्तै लागेको थियो ।
तर उनले आफ्नो पक्षमा जनमत बनाएर र ७० प्रतिशतभन्दा बढी मतसहित राष्ट्रपति पदमा सानदार जीत दर्ता गरे ।
उनको राष्ट्रपति शासन ‘संकट’ कै अवस्थामा थियो । तर निरन्तर काम गरिरहेका थिए ।
अहिले भने जेलेन्स्की युक्रेनीलाई मात्रै होइन विश्वको ठूलो भागलाई रुसविरुद्ध एकीकृत गर्न सफल भएका छन् ।
गएको बिहीबारदेखि रुसले युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको छ ।
देशको सार्वभौम रक्षा र स्वतन्त्रताको युद्धमा जेलेन्स्की अग्रपंक्तिमा देखिएका छन् ।
उनले त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।
उनले बारम्बार ट्वीटरमा सेल्फी भिडियो पोस्ट गर्ने गरेका छन् ।
ती भिडियोहरुमा उनले युद्धको वर्तमान अवस्थाबारे जानकारी दिँदै नागरिकहरुलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।
यस्तै रुसले फैलाएका गलत जानकारीहरुको खण्डन गरेका छन् ।
जेलेन्स्कीलाई रुसले निशानाको पहिलो सूचीमा राखेको छ ।
उनलाई देश छोड्ने भए अमेरिकासहितका देशबाट सहयोगको प्रस्ताव पनि आएको खबर प्रकाशित भए ।
तर जेलेन्स्कीले युद्ध युक्रेनमा रहेको र आफू युद्धको मैदानबाट नभाग्ने जवाफ दिए ।
उनले रुससामु नझुक्ने भन्दै आवश्यक सामग्री सहयोग गर्न सहयोगी राष्ट्रसँग बारम्बार अपिल गर्दै आएका छन् ।
उनी विभिन्न देशका नेताहरुसँगको टेलिफोन वार्तामा व्यस्त हुने गरेका छन् ।
यस्तै बाहिर निस्किएर युद्धको मोर्चामा अग्रपंक्तिमा पनि देखिएका छन् ।
उनी देशभित्र रुसविरुद्धको युद्धमा विपक्षीसहितलाई एकताको सूत्रमा बाँध्न सफल भएका छन् ।
यस्तै यो युद्धमा उनी अडिग भएर उभिँदा आन्तरिक विवादका कारण एकठाउँमा आउन नसकेका नेटो राष्ट्र तथा युरोप र अमेरिकालाई पनि एक ठाउँमा ल्याएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसहित उनको टिमलाई लागुऔषध दुर्व्यसनीहरुको नियो नाजी टिम भनेर युक्रेनी सैनिकलाई हतियार बिसाउन आग्रह गरेका थिए ।
तर जेलेन्स्कीले भिडियोमार्फत नै जवाफ दिँदै हतियार नबिसाउने र देशको रक्षा गर्न सबै प्रतिबद्ध रहेको बताए ।
बिहीबार युद्ध सुरु हुनुपूर्वको सन्देशमा रुसी नागरिकलाई समेत सम्बोधन गरी युद्ध नचाहेको बताएका उनी युद्ध सुरु भएपछि योग्य कमाण्डरका रुपमा उभिएका छन् ।
सुरुमा जेलेन्स्कीको नेतृत्व क्षमतालाई लिएर शंका गरिरहेका युक्रेनीहरु अहिले उनको समर्थनमा आएको र उनीमाथि विश्वास गरिरहेको समाचार वेबसाइट नोभोय भ्रेम्याकी प्रधान सम्पादक युलिया म्याकगुफीले बताएकी छन् ।
रुसले युद्ध सुरु गरेयता जेलेन्स्कीप्रति युक्रेनीको विश्वासमात्रै नभएर सम्मान पनि बढेको देखिएको उनले बताइन् ।
जेलेन्स्कीले टेलिभिजन सिरिज ‘सर्भेन्ट अफ द पिपुल’ मा एक शिक्षकको भूमिका निर्वाह गरेका थिए ।
राजनीतिमा कायम रहेको भ्रष्टाचारबारे उनको आक्रोश एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी राष्ट्रपतिका उम्मेदवारका रुपमा देखिएका हुन्छन् सो सिरिजमा ।
राजनीतिक जीवनमा पनि उनको प्रवेश भ्रष्टाचारविरोधी नेताकै रुपमा भएको थियो ।
उनको राजनीतिक पार्टीको नाम ‘सर्भेन्ट अफ द पिपुल पार्टी’ हो ।
उनले देशको पूर्वी क्षेत्रमा शान्ति स्थापना गर्ने र भ्रष्टाचारविरुद्ध लाग्ने नारासहित चुनाव लडेका थिए र ७३ प्रतिशत मतसहित विजयी भएका थिए ।
राष्ट्रपतिमा असीमित शक्ति हुने भए पनि चुनावमा गरेका वाचा पूर्ण रुपमा पूरा गर्न भने कठिन हुने गरेको छ ।
जेलेन्स्की पनि देशमा सफल भएका थिएनन् । तर रुस युद्धले एक कलाकारलाई स्वतन्त्रता रक्षा युद्धको विश्वासयोग्य कमाण्डरका रुपमा उभ्याएको छ ।
युक्रेनको पूर्वी क्षेत्रमा पर्ने क्रियभ्यी रिहमा सन् १९७८ मा जन्मिएका उनी ४४ वर्षका भए ।
उनले किएभ नेशनल इकोनोमिक युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन् ।
उनी २०१५ सम्म टेलिभिजन र चलचित्रहरुमा सक्रिय थिए । त्यसपछि राजनीतिक जीवनमा प्रवेश गरेका हुन् ।
सामाजिक सञ्जालमा उनको लोकप्रियता उनको लोकप्रियता पछिल्लो दिनमा निकै बढेको छ ।
नेपाली समयअनुसार शनिबार बिहान ट्वीटरमा उनलाई १.५ मिलियनले पछ्याइरहेका थिए ।
अहिले त्यो संख्या २.९ मिलियन पुगेको छ । -बिबिसी