मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4407
    बैशाख १५, २०७९ बिहीबार
    गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
    उहाँले आज एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने कुरा ब्यक्त गर्नुभयो ।
    मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।
    मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात गरी यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको थियो । पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपिलमा उल्लेख छ ।
    सभापति देउवाले पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दागर्दै पनि पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेदवारी फिर्ता लिन अपिल गर्नुभएको छ । साथै उहाँले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि अपिलसमेत गर्नुभएको छ ।
    एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको उल्लेख गर्दै सभापति देउवाले पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम् भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन उहाँले आग्रह गर्नुभएको छ ।
    सभापति देउवाले देशभरका वालिग मतदाता स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तह सरकारको नेतृत्व सुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेको उल्लेख गर्नुभएको छ । पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिको कार्यशैलीको समग्र मूल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिबद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवार र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपङ्क्ति हार्दिक एकताका साथ जुटिरहेको र पाँच दलिय गठबन्धन आजको आबश्यकता भएकोले सबै एकढिक्का हुनुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • # समाचार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij