बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

उच्च अदालतद्वारा बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/578
    भदौ २३, २०७८ बुधबार
    उच्च अदालतद्वारा बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

    काठमाडौं । उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना संक्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । 

    नेपाल पत्रकार महासंघ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्सोरेन्स लिमिटेड, बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो । उच्च अदालतले सबै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मंगलबारको आदेशमा जनसरोकारको विषय भएकोले रिट निवेदनलाई अग्राधिकार दिई पेश गर्नसमेत आदेश गरेको छ । सो रिटको पक्षमा अधिवक्ता मनोजकुमार आचार्यले बहस पैरवी गरेका थिए ।

    नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २१० पत्रकार र उनीहरुका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ बीमितलाई कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए। बाँकी ३१ जनाले बीमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने बेहोराको पत्र पठाएको थियो ।

    अजोड इन्सोरेन्सले जारी गरेको बीमालेखमा तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्तिलाई रु एक लाखसम्मको दाबी भुक्तानी दिने, बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बीमितले रीतपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ तर कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नुपर्ने रकम १० महिना बितिसक्दा पनि दिएको छैन ।

    त्यसअघि नेपाल पत्रकार महासंघले बीमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचार गरेको थियो । त्यसमा जवाफमा नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिनसक्ने बेहोराको जवाफ दिएको थियो ।

    कम्पनीको नियमानुसार आवश्यक प्रिमियम तिरेर बीमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij