काठमाडौं । शेयर कारोबार मापक परिसूचक नेप्से मंगलबार फेरि ओरालो लागेको छ । नेप्से १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिन अर्थात् सोमबार नेप्से ०.२७ अंकले बढेर २९४७.६९ बिन्दुमा पुगेको थियो ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार कित्ता शेयर ५ अर्ब १९ करोड मूल्य बराबरमा खरिदबिक्री भए । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । सोमबार ७ समूहको परिसूचक बढेको थियो ।
सबैभन्दा बढी निर्जीव विमाको २७७.८६ अंकले घटेको छ । जीवन विमाको १४४.६८, उत्पादनको ६७.३९, विकास बैंकको ६६.८४, वित्तको २८.६२ अंकले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको बजारमा दुईवटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएको छ । मनकामना स्मार्ट लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज राष्ट्रिय बिमा कम्पनीको शेयरमूल्य सर्वाधिक ५.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कारोबारका अघिल्ला दिनमा पनि अरुण भ्याली नै शीर्ष स्थानमा रहेको थियो । यो कम्पनीको २७ करोड बढीको शेयर खरिदबिक्री भए । त्यसैगरी रैरांग हाइड्रोपावर र युनाइटेड मोदीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भए ।