काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालको निर्यात ५७.२० प्रतिशतले बढेको छ । भारतमा सोयाविन तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको हो ।
अघिल्लो आवको पहिलो आठ महिनामा १ खर्ब ६ अर्ब रुपैयाँको निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बढी निर्यात गरेको हो । यसअघि सुस्त रहँदै आएको नेपालको निर्यात सोयाविन निर्यातका कारण समीक्षा अवधिमा उल्लेखनीय वृद्धि भएको हो ।
नेपालले ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात गर्दा सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात गरेको हो । भारतले सोयाविन तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको निर्यातको ग्राफ ह्वात्तै बढ्न थालेको हो ।
नेपालको आयात भने फागुनसम्ममा ११.२० प्रतिशत वृद्धि भएर ११ खर्ब ४५ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ । गत आवको पहिलो आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोडको आयात भएको थियो । आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस प्रमुख रहेका छन् । आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोडको डिजेल, ४२ अर्ब ८० करोडको पेट्रोल तथा ४१ अर्ब रुपैयाँ बराबरको एलपीजी ग्याँस आयात गरेको छ ।
नेपालले ८ महिनामा कच्चा सोयाविन तेल मात्रै ५१ अर्ब ३५ करोड रुपैयाँको खरिद गरेको छ । नेपालले सोही कच्चा तेल प्रशोधन गरेर भारत निर्यात गर्दा नेपालको आयात निर्यातमा वृद्धि देखिएको हो ।
कुल विदेश व्यापार समीक्षा अवधिमा १५.२९ प्रतिशतले वृद्धि भएको तथ्यांक छ। भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ ।
निर्यातभन्दा आयात अधिक भएपछि चालु आवको ८ महिनामा मुलुकको व्यापार घाटा ६.२२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि, निर्यातको हिस्सा बढेका कारण आयात निर्यात अनुपात अघिल्लो वर्ष १०.२४ रहेकोमा घटेर ७.२४ मा झरेको छ। कुल व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिको तुलनामा ३६.३५ प्रतिशतले वृद्धि हो ।