मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

 बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का 


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/8954
    बैशाख २१, २०८२ आइतबार
     बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का 

    काठमाडौं । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो ।

    केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका– ७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो । ‘यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ’, केन्द्रका प्रमुख रामकुमार यादवले भने, ‘पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ ।’

    बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ । केन्द्रको ८।५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनको भनाइ छ । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन् ।

    यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ । करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन् । त्यसमध्ये बर्सेनि तीन हजार ५०० बढी रूखले फल दिने गरेको छ ।

    यहाँको आँप गत वर्ष २१ लाखमा ठेक्का लागेको थियो । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताए । ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij