नवलपुर नवलपरासी, १८ साउनः राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको नारायणघाट–बुटवल सडक विस्तार योजना पुनः एक वर्ष म्याद थप गरिएको छ । निर्माण कार्य सुस्त गतिमा अघि बढेकाले चौथोपटक म्याद थप गर्दै सरकारले आगामी साउन ७ गते, २०८३ सम्मका लागि निर्माण अवधि लम्ब्याएको हो ।
सडकको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार निर्माण कम्पनीले बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि यो अन्तिम पटक म्याद थप गरिएको हो । उनका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मको अधिकांश भागमा कालोपत्रे सकिएको छ भने दाउन्ने क्षेत्रमा भने अझै ढलान तथा पुल निर्माणको काम जारी छ ।
पूर्वी खण्डमा हालसम्म ६५ किलोमिटर चार लेन सडक, डिभाइडर, र १७.४ किलोमिटर सर्भिस लेन निर्माण गर्ने योजना छ । निर्माण तीव्र भए पनि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने सबै काम पूरा गर्न अझै १८ महिना लाग्ने बताएको छ । तर सरकारले एक वर्षमात्रै म्याद थप गरेको हो ।
हाल दाउन्ने खण्डमा चार किलोमिटर सडक ढलानको काम जारी छ भने गिरुवारी खोलामा बनिरहेको पुलमा ६ स्ल्याबमध्ये दुईवटा राखिएको र बाँकी निर्माणाधीन अवस्थामा रहेको जानकारी छ ।
योजना अन्तर्गत गैँडाकोटको नारायणी नदी पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । जयश्रीको ठूलो पुल दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
सात वर्षअघि सुरु गरिएको यो आयोजनामा ४२ महिनामा काम सक्ने सम्झौता भए पनि पटकपटक म्याद थपिएको छ । कुल ११४ किलोमिटर सडक विस्तार आयोजनामा १६ अर्ब ९९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ, जसअन्तर्गत पूर्वी खण्ड ६५ किलोमिटर को लागत ९ अर्ब १३ करोड र पश्चिमी खण्ड ४९ किलोमिटर को लागत ७ अर्ब ८६ करोड रहेको छ ।
निर्माण कम्पनीले अबको एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित ३०० जना श्रमिक परिचालन गरेर तीव्र गतिमा कार्य अघि बढाएको जनाएको छ । यदि निर्धारित अवधिमा सबै काम नसकिए प्रगतिको आधारमा थप ६ महिना म्याद माग गरिने योजना रहेको अधिकारी खनालले जानकारी दिएका छन ।