आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

निर्मला हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/9718
    साउन १८, २०८२ आइतबार
    निर्मला हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

    काठमाडौँ, १८ साउनः गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी लाई निर्देशन दिएका छन ।
    आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले उक्त चर्चित प्रकरणलाई सूक्ष्म ढंगले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन । “निर्मला पन्तको हत्या लगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,” गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सिआइबी प्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ।”
    सीमित स्रोतसाधनका बाबजुद सिआइबीले कार्यसम्पादनमा देखाएको सफलताप्रति सन्तोष व्यक्त गर्दै मन्त्री लेखकले आवश्यक प्रविधि र साधनस्रोत उपलब्ध गराउन मन्त्रालय गम्भीर रहेको जानकारी दिए । उनले पछिल्लो समय वित्तीय अपराध बढेकाले त्यसको नियन्त्रणका लागि विशेष महाशाखा गठन गरिएको पनि बताएका छन ।
    “प्रहरीप्रतिको विश्वास बढेका कारण देशभरबाट प्रहरी चौकीको माग बढ्दै गएको छ,” गृहमन्त्रीले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन चालु आर्थिक वर्षमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ।”
    कार्यक्रममा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीको कार्यसम्पादन, चुनौती र हालका अनुसन्धानको अवस्थाबारे जानकारी गराउँदै निर्मला पन्तको मुद्दामा समेत अनुसन्धान जारी रहेको बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायत उच्च प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij