भोजपुर, २१ साउनः स्थानीय तहमा सेवा प्रवाहका लागि प्रयोगमा ल्याइएको सर्भर बारम्बार अबरुद्ध हुँदा नागरिकले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । भोजपुर नगरपालिका –५ बोखिम लगायतका वडाहरूमा सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलन, राष्ट्रिय परिचयपत्र र बायोमेट्रिकजस्ता कार्य प्रभावित भएका छन् ।
वडासचिव अभिनास राईका अनुसार सुरुमा विहानै कार्यालय खोल्दा केही समय सेवा प्रवाह सहज भए पनि पछिल्लो केही दिनदेखि फेरि उही समस्या दोहोरिएको छ । “सर्भर नचले दुई–चार मिनेटमा सकिने काम गर्न घण्टौँ लाग्छ,” उनले भने, “सामाजिक सुरक्षा, परिचयपत्र र भत्ताबीचको लिङ्कमा समस्या छ ।”
सामाजिक सुरक्षा भत्ता लिने ३५२ जना लाभग्राहीमध्ये हालसम्म करिब एक सय जनाको मात्र नवीकरण सम्भव भएको वडाले जनाएको छ । दैनिकजसो सर्भर समस्या दोहोरिएपछि सेवाग्राही मात्र होइन, कर्मचारी पनि समस्यामा परेका छन् ।
वडाध्यक्ष फविन्द्र प्रधानले नागरिकलाई सहज सेवा दिने उद्देश्यले विहानैदेखि कार्यालय सञ्चालन गरे पनि पछिल्लो समय विहानको समयमा समेत सर्भर समस्या देखिन थालेको बताए ।
भोजपुर मात्र होइन, अधिकांश स्थानीय तहमा पनि यस्तै समस्या देखिँदै आएको जनाइएको छ । सर्भरको प्रविधिगत समस्या समाधान नभएसम्म सेवा प्रवाहमा थप अवरोध आउन सक्ने देखिएको छ ।