बलिउडमा मित्रता, दुश्मनी, प्रेमका किस्सा धेरै सुन्न पाइन्छ । बलिउडको करिब सय वर्षको इतिहासमा फिल्मी शैलीकै प्रेम, शत्रुता र मित्रताका थुप्रै कथा आज पनि बेलाबेलामा चर्चामा आइरहन्छन् ।
यहाँ बलिउड स्टारका केही यस्ता सम्बन्धबारे उल्लेख गरिएको छ जो दुुश्मनी हुँदै मित्रतामा बदलिएको छ ।
१. दिलीपकुमार र देव आनन्द
बलिउड फिल्मका दुई वरिष्ठ अभिनेता दिलीपकुमार र देव आनन्दको सम्बन्ध निकै चिसो रह्यो। यसको कारण त्यो बेलाकी सुन्दर अभिनेत्री सुरैयालाई मानिन्थ्यो । दिलीपकुमार सुरैयालाई निकै मन पराउँथे भने सुरैयाको मन देव आनन्दमा अल्झिएको थियो ।यही कारणले धेरै वर्षसम्म उनीहरूबीच आपसमा बोलचाल भएन ।
एक अर्कासँग प्रेममा रहेका सुरैया र देव आनन्दको पारिवारिक कारणले गर्दा बिहे भने हुन सकेन । त्यसपछि देव आनन्दले अर्की अभिनेत्री कल्पना कार्तिकसँग विवाह गरे र दिलीपकुमारले सायरा बानोसँग विवाह गरे तर सुरैया भने जिन्दगीभर अविवाहित नै रहिन् ।
उमेर बढ्दै जाँदा दिलीपकुमार र देव आनन्दबीच आपसी मनमुटाव पनि मेटिँदै गयो । कुनै समय एक अर्कालाई देख्न मन नपराउने उनीहरू बुढेसकालमा भने मिल्ने साथी बनेका थिए ।
२. अमिताभ बच्चन र राजेश खन्ना
७० को दशकमा अमिताभ बच्चन भर्खर फिल्म क्षेत्रमा प्रवेश गर्दा राजेश खन्ना बलिउडका सुपरस्टार थिए । बलिउडमा राजेशले आफ्नो ठाउँ बनाइसकेका थिए भने अमिताभले पनि छोटो समयमै धेरै वटा हिट फिल्म दिए र 'एंग्री यङम्यान'को उपनाम पाए ।
तर राजेशसँग उनको तुलना भने गरिएको थिएन । सुरुमा राजेश र अमिताभको सम्बन्ध उति खराब थिएन। सन् १९७१ मा ऋषिकेश मुखर्जीले दुवैलाई लिएर 'आनन्द' निर्देशन गरे ।
उक्त फिल्मबाट राजेशले उत्कृष्ट अभिनेताको तथा अमिताभले उत्कृष्ट सह-अभिनेताको फिल्म फेयर अवार्ड पनि पाएका थिए ।सोही फिल्मबाट अमिताभलाई राजेशसँग दाँज्न थालियो । त्यसपछिका केही वर्ष अमिताभ र राजेशको सम्बन्ध चिसो रह्यो ।
भित्री कारण कसैलाई थाहा नभए पनि दुईको सम्बन्धमा दरार आउनुको कारण 'स्टारडम'को लडाइ भनियो । पछिल्ला वर्षहरूमा भने राजेश र अमिताभको सम्बन्ध सुमधुर रहेको बताइन्छ ।
३. श्रीदेवी र माधुरी दीक्षित
आफ्नो समयका चर्चित अभिनेत्री श्रीदेवी र माधुरी दीक्षितको सम्बन्ध पनि सुरुदेखि नै चिसो रहेको मानिन्छ । जतिबेला माधुरी बलिउडमा प्रवेश गरिन् त्यतिबेला श्रीदेवीको लोकप्रियता उत्कर्षमा थियो ।
श्रीदेवीको विकल्प नै नरहेको अवस्थामा माधुरीको प्रवेशले बलिउडमा एउटा तरङ्ग ल्यायो । सुरुदेखि नै एकपछि अर्को हिट फिल्म दिएपछि माधुरीको तुलना श्रीदेवीसँग हुन थाल्यो। दुई जना अघोषित प्रतिस्पर्धी बने ।
यसकारण दुई जनाको सम्बन्ध केही वर्ष तिक्ततापूर्ण रहेको मानिन्छ । पछि भने दुवै जना मिल्ने साथी बने । सन् २०१८ मा श्रीदेवीको आकस्मिक निधनमा माधुरी निकै दुःखी भएकी थिइन् ।
४. धर्मेन्द्र र जितेन्द्र
कुनै समय बलिउडका 'धर्म वीर' भनेर चिनिने धर्मेन्द्र र जितेन्द्र पछि एक अर्काको मुखसम्म हेर्न नचाहने भए । हेमा मालिनीका कारण धर्मेन्द्र र जितेन्द्रको सम्बन्धमा चिसो पसेको मानिन्छ । हेमा धर्मेन्द्रलाई माया गर्थिन् भने जितेन्द्र हेमालाई। परिवारको सहमतिअनुसार जितेन्द्र र हेमाको विवाह हुन लाग्दा धर्मेन्द्रले उक्त विवाह रोकेका थिए ।
त्यही घटनापछि यी दुई जनाको सम्बन्धमा चिसो पसेको थियो । पछि हेमा र धर्मेन्द्रको विवाह भएपछि सम्बन्ध झनै खराब हुन गयो । वर्षौं एक अर्काको मुख नै नहेरी बिताएका धर्मेन्द्र र जितेन्द्र पछिल्ला वर्षहरूमा बोलचाल मात्र गरेनन् फेरि पहिलेजस्तै मिल्ने साथी पनि बनेका छन् ।
५. सलमान खान र शाहरुख खान
सन् २००८ जुलाई १६ को साँझ कट्रिना कैफको २४ औँ जन्मदिनको पार्टी हुँदै थियो । धेरै बलिउड सेलिब्रेटिसँगै सलमान र शाहरुख पनि कट्रिनालाई जन्मदिनको शुभकामना दिन त्यहाँ पुगेका थिए ।
फ्यान फलोइङ, हिट फिल्म, फ्लप फिल्म दुवैका उस्तै उस्तै थिए तर त्यो बेला 'चक दे इण्डिया', 'ओम शान्ति ओम' जस्ता फिल्मले गर्दा शाहरुखको चर्चा अलि बढी थियो ।
आफ्नो फिल्ममा शाहरुखले केमियो रोल नगर्ने भनेको कुरालाई लिएर सलमानले शाहरुखलाई गिज्याउन थाले । त्यहाँबाट सुरु भएको विवाद हात हालाहाल भएर टुङ्गियो ।
उक्त घटनापछि धेरै वर्ष सलमान र शाहरुखको सम्बन्ध पानी बाराबारको जस्तो बन्यो । तर पछिल्ला केही वर्षदेखि दुवै जना मिल्ने साथीको रुपमा देखिन थालेका छन् । एक अर्काका फिल्म तथा कार्यक्रममा देखिने मात्र होइन पारिवारिक समस्यालाई लिएर पनि दुई जनामा सल्लाह हुने गर्छ ।