काठमाडौं । २५ कात्तिकदेखि सुरु भएको राष्ट्रिय जनगणना ९ मंसिरमा सम्पन्न भएको छ । जनगणनामा लिपुलेक, लिम्पियाधुरा, कालापानी र छिटपुट घरपरिवारबाहेक सबै जनसंख्या सहभागी भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
मंसिर मसान्तसम्म देशभरबाट तथ्यांक भरिएका प्रश्नावली जम्मा गर्ने र पुसदेखि डाटा इन्ट्री थालिने विभागले जनाएको छ । डाटा इन्ट्र सुरु गरेको दुई महिनाभित्रै प्रारम्भिक तथ्यांक सार्वजनिक गर्ने विभागको तयारी छ ।
वर्ष दिनभित्र जनगणनाको मुख्य तथ्यांक समेटिएको राष्ट्रिय प्रतिवेदन तयार गरिने जनाइएको छ । देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिहरूको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन भएका थिए ।
जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा–जमिनको विवरण संकलन गरिएको छ । त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्यसम्बन्धी लगायत तथ्यांक संकलन गरिएको छ ।
यसअघि २५ जेठदेखि ८ असारसम्म हुने भनिएको जनगणना कोभिड–१९ का कारण स्थगित गरिएको थियो ।