काठमाडौं । निर्माता छविराज ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । पछिल्लो पटक ‘मंगलम’ निर्माण गरेका उनी पत्नी शिल्पा पोखरेलसँगको झगडापछि मौन थिए ।
शिल्पासँगको झगडाले प्रहरी हुँदै अदालतसम्म पुग्नु परेपछि तनावमा रहेका उनले अब फिल्म निर्माणमा फर्किने निर्णय लिएका हुन् । शिल्पा र छविराजबीच अहिले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा चलिरहेको छ । त्यहीकारण उनी फिल्म निर्माणमा आउन सकेका थिएनन् ।
तर उनले यसै साता आफ्नो ५७ औँ जन्मदिनका अवसरमा नयाँ फिल्मको गीत रेकर्ड गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरले स्वर दिएका छन् । यसमा दीपक शर्माको शब्द र संगीत छ ।
यसअघि छविराजले बनाएको फिल्म ‘मंगलम’ को चर्चित गीत ‘पर्ख पर्ख मायालु’ पनि दीपकले नै बनाएका थिए । ओझाले यो पटक निर्देशकमा नवराज शर्मालाई छानेका छन् । शर्माले यसअघि सयभन्दा बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् ।
उनी यही फिल्मबाट निर्देशकका रुपमा आउन लागेका हुन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको ओझाले बताए । दुई महिनापछि छायाँकन सुरु हुने उनले बताए । फिल्मका लागि कलाकार छनोट सुरु गर्न लागिएको ओझाले बताए ।
अहिलेसम्म आफूले राम्रो फिल्म बनाउने कोशिश गरेको बताउँदै ओझाले यसअघि नारी प्रधान फिल्म बनाउँदै आएका थिए । यसपटक युवापुस्तालाई लक्षित गर्दै फिल्म बनाउन लागेको उनले बताए ।
‘निर्देशक नवराज शर्माको सोचमा फिल्म बन्दैछ । मेरो हिसाबमा चाहिँ फिल्म पूर्णत लभस्टोरी हुनेछु, उनले भने, ‘स्क्रिप्ट र गीत हेर्दा फिल्म राम्रो बन्छ भन्नेमा म ढुक्क छु ।’