शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

वैदेशिक लगानीमात्रै ७७ प्रतिशतले कसरी बढ्यो ?


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2461
    पुष ४, २०७८ आइतबार
    वैदेशिक लगानीमात्रै ७७ प्रतिशतले कसरी बढ्यो ?

    काठमाडौं । अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक उच्च अंकले ऋणात्मक रहेको अवस्थामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भने उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यस्तो अवस्थामा विदेशी लगानी मात्र बढ्नुलाई अर्थजगत्मा चासोका रूपमा हेरिएको छ ।

    गत वर्षको चार महिनाको तुलनामा विदेशी लगानी बढेको देखिए पनि यथार्थमा निकै कम मात्र आएकाले अर्थतन्त्रमा त्यसको योगदान नगन्य देखिएको अर्थविद्हरूले जनाएका छन् ।

    चार महिनासम्म करिब ६ अर्ब मात्र विदेशी लगानी आएकाले त्यसलाई उत्साहका रूपमा हेर्न नहुने अर्थविद् केशव आचार्यले बताए ।

    ‘कोभिडका कारण गत वर्षको चार महिनामा विदेशी लगानीको अवस्था निकै दयनीय थियो,’ उनले भने, ‘त्यस्तो अवस्थासँग तुलना गर्दा मात्र गत कात्तिकसम्म विदेशी लगानी धेरैले बढेको देखिएको हो ।

    यथार्थमा यस वर्षको विदेशी लगानी प्रतिबद्धता र अपेक्षाभन्दा धेरै कम हो ।’ कोभिडका कारण पछिल्ला दुई वर्षमा विदेशी लगानी घटेको मान्ने हो भने पनि आउँदा महिनामा उल्लेख्य रूपमा बढ्नुपर्ने उनको भनाइ छ ।

    ‘विदेशी लगानीका सम्बन्धमा नेपालमा धेरै सुधार (नीतिगत र व्यावहारिक) गर्नुपर्नेछ,’ उनले भने, ‘अहिलेकै अवस्थामा अपवादका रूपमा एकाध कम्पनीमा बाहेक समग्रमा विदेशी लगानी बढ्ने सम्भावना देखिँदैन ।’

    राष्ट्र बैंकका अनुसार गत कात्तिकसम्म ६ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ७७ प्रतिशत बढी हो ।

    २०७७ कात्तिकसम्म मुलुकमा ३ अर्ब ७४ करोड रुपैयाँ मात्र विदेशी लगानी आएको थियो । मासिक रूपमा हेर्दा गत कात्तिकमा थप १ अर्ब ५५ करोड मात्र विदेशी लगानी आएको देखिन्छ । गत असोजसम्म ५ अर्ब ७ करोड रुपैयाँ यस्तो लगानी भित्रिएको थियो ।

    कात्तिकसम्म आएको विदेशी लगानी अपेक्षाभन्दा कम भएकाले विदेशी मुद्रा सञ्चिति वृद्धि र शोधनान्तर घाटा कममा देखिने गरी योगदान नपुगेको राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् ।

    ‘विदेशी लगानीको आकार निकै कम हो । यो वृद्धिलाई राम्रो भयो भनेर कुनै पनि अर्थमा विश्लेषण गर्न सकिँदैन,’ ती अधिकारीले भने, ‘गत वर्षको आधार कम भएकाले यो वर्ष थोरै लगानी आउँदा पनि प्रतिशतमा धेरैको वृद्धि देखिएको हो ।’

    चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ६५ प्रतिशत विदेशी लगानी घटेको थियो । तर भदौ, असोज र कात्तिकमा लगातार विदेशी लगानी बढिरहेको छ ।

    गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यति बेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij