काठमाडौं । उत्तर कोरियाले बुधबार गरिएको परीक्षण हाइपरसोनिक मिसाइल रहेको दाबी गरेको छ । उसले यो परीक्षण सफल भएको र यसले सफलतापूर्वक निशानालाई प्रहार गरेको उल्लेख गरेको छ ।
बुधबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको जापान र दक्षिण कोरियाले बताए पनि कुनै मिसाइल परीक्षण गरिएको हो भन्ने खुल्न सकेको थिएन ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले ब्यालेस्टिक तथा हाइपरसोनिक मिसाइल परीक्षणमा रोक लगाएको छ । ब्यालेस्टिक मिसाइल धेरै उचाइमा पुगेर सोझै निशानामा पुगेर झर्छ ।
तर, हाइपरसोनिक मिसाइलले भने धेरै उचाइ लिँदैन र यो हावाको गतिभन्दा पाँच गुणा छिटो हुन्छ । कोरियाली समाचार एजेन्सी केसीएनएनले हाइपरसोनिक मिसाइल परीक्षण सफल हुनु निकै महत्वपूर्ण कुरा भएको उल्लेख गरेको छ ।
समाचारमा उल्लेख गरिएअनुसार बुधबार गरिएको हाइपरसोनिक मिसाइलले ७ सय किलोमिटर टाढा रहेको निशानामा सफलतापूर्वक प्रहार गरेको थियो । यो परीक्षण उडान नियन्त्रण तथा जाडोयाममा परीक्षण गर्न सक्ने क्षमता जाँचको लागि गरिएको समाचारमा उल्लेख छ ।
उत्तर कोरियाले सन् २०१७ यता आणविक बम र लामो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छैन ।
त्यसको सट्टामा उसले दक्षिण कोरिया र अमेरिकाको मिसाइल सुरक्षा प्रणालीले भेदन गर्न नसक्ने किसिमको मिसाइल विकास गरिरहेको विश्लेषकहरुले बताएका छन् ।