सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो ।
अरु बेला भन्दा बस्ती केही सफा थियो । राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो ।
केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो । राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग मित लगाउने तयारी थियो ।
मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली ल्याएका थिए । मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए ।
राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ । यो समुदायसँग छिट्टै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन् । मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन् ।
गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन् । ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ ।’ मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन् ।
मोवाइल नम्वर मागिन् । बेला–बेलामा भेट्न आउन आग्रह गरिन् । ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु ।’