काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ ।
हिजोको सिसिएमसीको सिफारिसले धेरैलाई अब लकडाउन हुन्छ वा हुँदैन भन्ने चासो छ । सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ ।
यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्नेरनगर्ने निर्णय लिने हो । विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो ।
काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू निरन्तर छलफलमा छन् । अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श गरेर र जोखिम मूल्यांकन गरी थप निर्णय लिने भनिएको छ ।
स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन् ।