मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

महाकाली नदीमा भारतले फेरि तटबन्ध बनाउँदै, नेपाल सरकार मौन


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3104
    माघ ९, २०७८ आइतबार
    महाकाली नदीमा भारतले फेरि तटबन्ध बनाउँदै, नेपाल सरकार मौन

    काठमाडौं ।  सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ ।

    भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन ।

    भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो ।

    अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ ।

    अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको हो । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको थियो ।

    ‘नदीको पुरानो बहाव परिवर्तन नहुने गरी तटबन्ध बनाउन हामीले भारतलाई रोक्न सक्दैनौं,’ प्रजिअ उपाध्यायले भने, ‘बहाव परिवर्तन हुने गरी संरचना बनाए त्यसको प्रतिवाद गर्न सकिन्छ ।’

    महाकाली किनारमा भारतले पक्की तटबन्ध बनाउन थालेको बारे शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ ।

    उक्त क्षेत्रमा २०७० सालमा महाकालीमा आएको भीषण बाढीअघि नै भारतले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको थियो । यसपालि बहाव धकेलिने गरी नदीको भूभाग मिचेर पक्की तटबन्ध बनाउन थालेको स्थानीयले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij