मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमार्फत उद्धार


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3389
    माघ २३, २०७८ आइतबार
    जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमार्फत उद्धार

    कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

    कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरूको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।

    मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिए । “हिउँ पाँच फिटजति परेको सूचना प्राप्त भएको छ ।

    त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन,” मुख्यमन्त्री शाहीले भने, “भोकबाट बचाउन तत्काल उनीहरूका लागि खानेकुरा खसाल्ने तयारी छ ।”

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका–८, टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताए ।

    स्थानीयवासी शाहीका अनुसार टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् ।

    उनीहरू सेतक चिनी (खिरौँला) संकलन गर्न त्यहाँ गएका हुन् । शाहीका अनुसार उनकी बुहारी जैकुवाँरा शाही र तातोपानी–७, बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्यांग्रिएर मृत्यु भएको छ ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए ।

    तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकोप्टरबिना खाद्यसामगी त्यहाँ पुर्‍याउन असम्भव भएको बताए । रासस

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij