सडकको दाँया किनारामा हिड्दै गर्दा अचानक एउटा मैली, फोहोरी र कत्लै कत्ला परेको लुगा बेरेकी एउटी ठ्याक्कै मेरै उमेरकी ऊ देखिन्छे । कहीलेकाही उसको हातमा च्यतीएको बोरा सिलाएर बनाएको झोला हुन्छ । कहीले ५–१० रुपैयाँका नोटहरु । ऊ के गर्छे खोई तर कहिल्यै कपाल कोर्दिनन् । कहीले काँही त यस्तो लाग्छ म मेरा कपालका चुल्ठीहरुबाट उसलाई मेरा राता रिवन दिउँ या रंगीन क्ल्पिसहरु । उसलाई मन नपर्ने पो हो की, डर लाग्छ । सायद उसलाई मन पथ्र्यो भने त मेरा जस्तै कपाल बाटेर हिड्थी होली । त्यस्तो त कहील्यै गर्दिन ऊ ।
आज म आमासँग बजार गएरको थिएँ । फर्कदा कोटेश्वर चोकमा ऊ देखिई । मलाई ऊ हामी तिर आइदिए हुन्थ्यो जस्तो लाग्दै थियो । नभन्दै साँच्चै ऊ हामी उभिएकै नजिक आई । चोकको ट्राफिक लाइट हेरेँ, अझै रातो बलेको थियो । त्यहाँ हरीयो लाइट नबलोस् भनेर एकछिन भगवानलाई सम्झेँ । मलाई उसका हातहरु प्रेमपूर्वक छुन मन लागिरहेथ्यो । अनि आमासँग भनि “दिदि मलाई अलिकती पैशा दिनुस् न भोक लागेको छ ।” मलाई अरुले दिए जस्तो ५–१० रुपैयाँ दिन मन छैन, म त आमाको पैशाको ब्याग नै दिउँ सोचिरहे । तर भन्न कहाँ सक्नु । आमाले उसलाई दश रुपैयाको नोट दिदै गर्दा उसको हातले मलाई छोयो । म झसँग भए । जिउ सिरिङ्ग भयो । नाम सोध्न मन लागेर आयो... तिम्रो नाम के हो ? अघि हरियो ट्राफिक लाइट बलिसकेछ । उसले नाम नै भनिन् ।
अचेल मेरो मनमा अनेक सवालहरु आउँछन् । कहीले कहीँ आमालाई वा दिदिलाई सोधु जस्तो पनि लाग्छ । फेरी केही सोध्ने वित्तिकै आमा भन्नु हुन्छ, तिम्रो यस्तो सोध्ने बेला भएको छैन । अनि यस्ता कुरा आफै मनमनै खेलाइ रहन्छु । कहिलेकहीँ अबेरमा निन्द्रा लाग्छ । आमाको डरले मात्र निदाएको बाहाना गर्छु तर खासमा केही न केही सोचिरहेको हुन्छु । टिभिमा म समाचार हेर्दिन । मलाई त कार्टुन हेर्न पर्छ । डान्स पनि । तर मैले एकदुई दिन अगाडि एउटा समाचार हेरेँ । नेपालको बझाङ जिल्लामा म जस्तै एक साथीको बलात्कार गरेर कसैले मारी दिएको रहेछ । उसको फोटोमा उसले लगाएको ज्याकेट ठ्याक्कै मेरै जस्तो छ । उसलाई बलात्कार गरेर मारेको भने पछि, आमालाई सोध्न् मन लाग्यो आमा बलात्कार भनेको के हो भनेर ? कस्तो हुन्छ यो ? खुकुरी जस्तै या चक्कु जस्तो कुनै धारीलो बस्तु । धेरै दिनदेखि सोचिरहेछु, खासमा बलात्कार भनेको के हो ?
अचेल स्कुल लाग्दैन, साथीहरु भेट हुदैनन् । यो के हो भनेर आमालाई सोध्यो भने, यस्तो कुरा नसोध भनेर उल्टै रिसाउनु हुन्छ । तर मलाई डर लाग्छ । कसैले मलाई पनि त्यही बलात्कारले हानेर मार्यो भने ? साच्ची त्यो सडकमा भेट हुने उसलाई पनि बलात्कारले मार्यो भने ?
एकाएक स्वासनै अड्किन्छ मेरो । स्वास्वा हुन्छ । उसको त नाम पनि थाह छैन, कसैले मा¥यो भने पनि को हो को हो ? हुन्छ होला । डर लाग्छ मलाई, उसलाई त्यस्तो नहोस् ।
दशैंले सबैलाई छोपिसकेको छ । हाम्रो घरमा पनि दशैंमा किनमेल गर्न जाने कुरा चलिरहेको छ । यसपाली नयाँ आएको धोती कुर्ता लगाउन मन छ मलाई । मलाईमात्र होइन, उसलाई पनि किनिदिन मन छ । किनिदिन मात्र होइन, संगै लिएर जान मन छ । भोली फेरि बजार जाने कुरा छ । हुनत कोरोनाका कारण हामी सात महिनादेखि घरमै छौं तर आज आमाले सुरक्षित भएर बजार जाने भन्नु भएकाले मनमा नाचुँ नाचुँ भइरहेछ । मेरो खुशी मात्र दशैं सपिङ्गको लागि होइन भन्ने थाह छ । किनकी आज पनि ऊ त्यही चोकमा देखिन्छे । सायद त्यही आज जाम पनि हुन्छ होला । हे भगवान आज पनि ट्राफिक जाम बनाइ देऊ है । बिहानदेखि मनमा भगवानलाई पुकारीरहेछु । साचो मनले सोच्यो भने भगवानले सबै पुर्याई दिनु हुन्छ, यस्तो मैले धेरै पटक मेरो बाबाले भनेको सुनेको छु ।
आज कस्ती होली ऊ ? के खाई होली बिहानै ? अनि आज कुन लुगा लगाएर आउँछे होली ? सोच्दा सोच्दै हामी कतिखेर त्यही चोकमा पुगिसकेछौं । थाह नै भएन । अफसोच आज जाम भएन । हामी सरासर जानु पर्ने भयो । उसलाई अलिपर देखें । बोलाउँ भने नाम थाह थिएन । के भनुँ भनुँ जस्तो लाग्यो । एकपटक जोडले चिच्याएर बोलाएँ–ं दिब्यान्सी..... । मैले उसलाई किन मेरो नाम लिएर बोलाएँ थाह छैन् । तर आमाले म तिर फर्किएर सोध्नु भयो, “के भयो छोरी ?” म केही बोल्न सकिन । खै किन गलामा केही अड्किए जस्तो भयो । ब्यागबाट पानीको बोतल झिकेर घटघट पिएँ । हामी बजार पुगिसकेका थियौं । मैले आमालाई आज कर गरेँ, मलाई दुई जोर धोती कुर्ता चाहियो । उहाँ दुईओटा होइन एउटा मात्रै भन्दै हुनुहुन्थ्यो तर मैले जिद्धी गरीरहें । हार मानेर उहाँले मलाई अनुमती दिनु भयो । अनि मनमा सोचे वा दिव्यान्सी तेरो नि क्या जिन्दगी छ । तर मेरो मन भित्रकी दिब्यान्सीलाई मेरो जस्तै कुर्ता लगाइ दिदा कस्तो देखिन्छे होली ?
अब मलाई उसको नाम के हो भनेर जानीरहन मन छैन । ऊ म जस्तै छे । म जस्तै बोल्छे । हिड्छे अनि सायद राती सुत्नु अगाडि धेरै कुरा सोच्छे होली । मेरा जस्तै ‘टेडी बियर’ का बारेमा वा नयाँ क्लिप्सहरु किन्ने बारेमा । साचीँ के के सोच्छे होली दिव्यान्सी ? ऊ सँगसंगै उभिएर उसको र मेरो उचाइको तुलना गर्नु छ मलाई । कसैले मलाई तिम्रो मन पर्ने हिराइन को हो भनेर सोध्यो भने म अव उसैको नाम लिनेछु...दिव्यान्सी । मेरो फेवरेट, मेरी हिरोइन दिव्यान्सी । किनकी ऊ सडकको भिडमा एक्लै हिड्न डराउँदिन । अध्यारोमा पनि ऊ अरुसँग पैशा माग्न डराउँदिन । उसलाई उसका बाबाले आमाले वा कसैले कमाएर दिनु पर्दैन । ऊ हरेक दिन केही न केही मागेर पेट भर्छे । उसलाई के खाने के लाउने भनेर कसैले रोकटोक गर्दैन । ऊ आफ्नो मनकी मालीक हो । जहाँ जावोस् स्वतन्त्र छे ।
स्कुल लाग्ने भए म आमालाई भनेर जसरी पनि उसलाई मसंगै मेरो स्कुलमै पढ्न लगिदिन्थे । मैले कर गरे भने त आमाले उसलाई जसरी पनि पढाउनु हुन्छ । किनकी, आज एकछिन कर गर्दा खेरी मैले उसको लागि पनि लुगा किनेको छु । धेरै दिन कर गरे भने आमाले उसलाई मेरै स्कुलमा पठाइदिनु हुन्छ ।
हामीले खाजा खाने बेलामा म दिब्यान्सीलाई सम्झीरहेथे । उसले के खाई होली ? अझै भोक लाग्यो भनेर कोही न कोहीसंग पाँच, दश रुपैया मागीरहेकी पनि हुन सक्छे । मेरा ओठहरु आफै खुम्चीए ।
निकै अबेरपछि अध्यारो अध्यारोमा हामी फेरी त्यही बाटो फर्कियौं । दिउँसो अलिपर देखिएकी ऊ अहिले वरीपरी कतै देपखएकी छैन । ट्राफिक लाइट पनि धेरैबेरदेखि रातो नै थियो । चारैतिर हेर्दा पनि दिव्यान्सीको अत्तोपत्तो छैन । कहाँ गई होली ऊ ? यो उसको अर्को जोर लुगा कसरी उसले लगाउन सक्छे ..?
एक दुई दिनदेखि ऊ तारन्तार आँखामा आइरही । म एक्लै चोकसम्म जान पनि सक्दिन । उसका बारेमा अरु कसैलाई भनेको पनि छैन । ऊ मेरो मनभित्रको प्रिय हिरोइन । ऊसँग भेट पनि हुँदैन । उसका अनेक कुराहरुले मलाई छटपटी भइरहेछ । खै के भयो उसलाई यसरी किन मेरो मष्तिस्क भरी फुरेकी छ ऊ । दशैंलाई भनेर किनिदिएको यो नयाँ लुगा म उसलाई दिन चाहन्छु ।
एकाएक टिभिमा ऊ देखिइ । तर ऊ फोहोरी, मैली थिइन । उसको लुगामा कत्लै कत्ला पनि थिएन । उसको अनुहारमा सडकको जाममा उभिएर अरुसंग पैशा माग्नेबेलाको जस्तो हँसीलो अनुहार पनि थिएन । उसले आँखा चिम्लीरहेकी थिइ । उसको शरीर नाँगो थियो । वरीपरी प्रहरीहरु जाँच पड्ताल गर्दै थिए । पत्रकारहरु होलान् सायद फोटो खिचिरहेका थिए । शहरको बीचैबीच बग्ने खोलाको किनारमा मेरी दिव्यान्सी सुतीरहेकी थिइ । ऊसंगै मेरी हिरोइनलाई अब कुनै होस थिएन । कोही अनुमान गरीरहेका थिए , यो बलात्कार गरेर गरिएको हत्या हो । आखीर मेरी दिब्यान्सीलाई पनि बलात्कारले नै मार्यो होला । मेरो हिरोइनको हत्यारा, मेरो सपनाको हत्यारा, पक्कै पनि बलत्कार नै हुनुपर्छ । मेरो निर्दोन मन यही भनिरहेको छ । तर, मानिसहरु सायद फेरि उसको मरेको शरीर माथि नाराबाजी गर्ने छन । दिनदिनै सडकमा यस्तै त हुन्छ । अनि बेस्सरी चिच्याए.... आमा ऊ दिब्यान्सी ।
दिब्यान्सीलाई सम्झेर उसका लागि किनिदिएको रातो धोती कुर्ता मेरा अगाडि आजपनि रोइरहन्छ । अनि मेरो मन पनि ।
हिमालय बोर्डिङ स्कुल
कक्षाः चार
वर्षः दश
टिकापुर, कैलााली ।