मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/5134
    कात्तिक २६, २०८० आइतबार
    बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

    राँझा । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । 

    विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ ।  

    छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । 

    उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । 

    गैरसकारी सस्था आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताए । अस्पतालमा अघिल्लो आव २०७८÷७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको थियो ।

    नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य समस्याको रूपमा कुष्ठरोगको सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगी लुकेर बसेको हुनसक्ने भएकाले खोजी अभियान शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ ।

    जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेट्टाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

    जिल्ला स्वाथ्य कार्यालय बाँकेका क्षय कुष्ठ स्रोत व्यक्ति रवीन्द्र शाहले जिल्ला स्वास्थ्य कार्यालयमा रोग निवारण अभियानका लागि बजेट नभएको जानकारी दिँदै स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको बताए । 

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग स्रोत व्यक्ति जीवन रजौरेले अझै पनि समाजमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले उनीमाथि भेदभाव हेला हुने गरेको उल्लेख गरे । अहिले पनि कुष्ठरोगका बिरामीको स्वास्थ्य संस्थासँग पहुँच नरहेकाले उनको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij