कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ । तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन् ।
सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन् । डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन् ।
डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन । सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ । सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ ।
डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ । यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भइन् ।
डेनमार्क आएपछि अरू सामान्य कामहरू गर्दै गर्दा अलि दक्षता भएको काम गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले बताइन् । ‘डेनमार्क आएको दुई वर्ष पुग्दा मलाई अलि स्थिर तथा दक्ष काम गर्नुपर्छ भन्ने लागेको थियो । त्यसैले यहाँको भाषा सिक्न स्थानीय भाषा स्कुलमा भर्ना भए । भाषाको योग्यता पुगेपछि बस चालक बन्ने रहर जागेको थिय,’ सपनाले आफूले देखेको सपना सुनाइन् ।
डेनमार्कमा आफ्नो परिवार श्रीमान्, एक छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताइन् । श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ । सपनाको सफलतामा श्रीमान मोहन खुशी मात्र हैन दंग पनि छन् । ‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने ।
श्रीमानको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको सपनाले बताउँछिन् । ‘विदेशको ठाउँ साना बच्चाहरू छन् । फेरि मिलेर काम गर्नुपर्ने । बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । त्यसैले म आज सफल भएँ,’ उनले भनिन् ।
डेनमार्कका रहेका नेपाली महिलाहरुलाई यहाँको भाषा सिक्नमा जोडदिनुपर्ने सपनाको सुझाव छ । ‘पहिला यहाँको स्थानीय भाषामा जोड दिनुहोस् । त्यसपछि आफूले चाहेको हरेक क्षेत्रमा कोर्स गर्न जान पाइन्छ । नेपाली महिलाहरूले आफूलाई कमजोर ठान्नु हुँदैन।भाषा भएमामा हरेक क्षेत्रमा बोल्न डराउनु पनि पर्दैन,’ सपनाले बताइन् ।
डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो । तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ ।