फिक्कल (इलाम) । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ ।
जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो ।
उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् ।
उनीहरुले यस वर्ष मात्र रु ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताए ।
गएको आव २०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले रु ३१ लाख ५२ हजार पोसाक भत्ता लिएका थिए ।
ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए ।
शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन, नगर प्रमुख पोख्रेलले भने, ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ ।
यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेकोे हो ।
पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा रु ३६ लाख विनियोजन गरेको थियो