आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

कालीगण्डकी नदीमा स्नान गर्नेको घुईचो


  • 901
    SHARES
  • https://indrenipost.com/index.php/posts/9441
    असार २२, २०८२ आइतबार
    कालीगण्डकी नदीमा स्नान गर्नेको घुईचो

    पर्वत, २२ असार । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गर्र्ने प्रचलन रहेको छ।

    आजदेखि चर्तुमास पर्व सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा नुहाउनेको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको छ । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ ।

    त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिसमानामा रहेको शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँका सङ्ख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आउने गरेका छन् ।

    मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । कालीगण्डकीमा स्नान गरेमा १ हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको बिश्वास रहेको छ । हरिशयनी एकादशीका अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तन समेत आयोजना गरिएको छ ।

    आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij