आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/5964
    पुष २६, २०८० बिहीबार
    दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

    चितवन, । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ ।

    गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो ।

    उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो ।

    उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ ।

    गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा रु पाँच करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिए ।

    उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो । किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ ।

    अघिल्लो वर्ष दूधमा अनुदान रु पाँच करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उनले भने, अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ ।

    महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए ।

    उनले भने,, हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ । कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए । 

    महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ ।

    यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पु¥याइने उनले बताए । चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु आठ करोड विनियोजन गरेको थियो ।

    पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

    पशुचौपायलाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ ।

    निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij