आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अझै रोकिएन बालविवाह


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/6363
    माघ २१, २०८० आइतबार
    अझै रोकिएन बालविवाह

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए ।

    बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ ।

    बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो । भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य परीक्षण गरी पुनः आफन्तको जिम्मामा रामेछापस्थित घर फर्काइएको छ । पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिकस्तरका विद्यार्थीले कमउमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा चेतनामूलक अभियान नै थालिएको छ ।

    विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिकसत्रमा कक्षा १० मा ५० विद्यार्थी भर्ना भएकामा ४२ मात्रैले अन्तिम परीक्षा दिएका छन्, अनुपस्थित आठमध्ये स्थानीयस्तरमा अनुसन्धान गर्दा छ छात्रछात्राले विवाह गरेको पाइयो”, महाभारत गाउँपालिका शिक्षा समिति सदस्य एवं गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भने ।

    उनका अनुसार केही वर्षदेखि नै यस्तो क्रम जारी रहेकाले गाउँपालिका, विद्यालय, आमा समूह, वडा कार्यालय तथा स्थानीय युवा क्लबमार्फत जनचेतनामूलक कार्यक्रम तथा र्याली र प्रदर्शन गर्दै आइएको छ । महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ ।

    गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बा बताउँ छन् । “हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ”, उनले भने ।

    उनका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरमा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियानसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताए । 

    उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको जानकारी दिए । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए ।

    विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । जिल्ला सदरमुकाम धुलिखेलकै उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो ।

    अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन् । सो विद्यालयमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन ।

    बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो ।

    जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बालविवाहविरुद्ध उजुरी नपरेसम्म चेतनामूलक अभियान र प्रचार–प्रसारबाहेक केही गर्न नसकिने बताए । 

    “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उनले भने ।

    नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो ।

    दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij