शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

बन्द हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरू गर्दै, सबै तयारी पूरा


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/6429
    माघ २३, २०८० मंगलबार
    बन्द हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरू गर्दै, सबै तयारी पूरा

    हेटौंडा । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।   

    हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो ।  

    उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो ।

    उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएको थियो ।

    विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भएपनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी गरिएको उनले बताए ।  

    चार वर्षदेखि लगातार घाटामा रहेको यो उद्योग समय-समयमा कोइला अभाव र मेसिन बिग्रँदा बन्द हुने गरेको छ । ४० वर्ष पुराना मेसिनबाट सञ्चालन हुँदा पनि बारम्बार समस्या आउने गरेको महाप्रबन्धक पाण्डे बताउँछन् ।

    उनले उद्योगको मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने भन्दै सरकारसँग प्रश्न गरेका छन् ।  

    पुराना मेसिनले गर्दा उत्पादन लागत बढ्ने र बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको महाप्रबन्धकको भनाई छ ।

    सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन जीर्ण बनेकाले पूर्ण क्षमतामा काम गर्न नसकेको उनको भनाइ छ ।

    नयाँ मेसिन नआएसम्म यी समस्या कायमै रहने र उद्योग नाफामा जान नसक्ने उनले बताएका छन् ।  

    दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा यो आर्थिक वर्ष २ लाख ४९ हजार ४५६ बोरा मात्र सिमेन्ट उत्पादन भएको छ ।

    यसमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै बिक्री हुन बाँकी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।  

    यसरी लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएपनि यसका लागि आवश्यक पर्ने कोइला र मेसिनको मर्मत सम्भारको सुनिश्चितता गर्नु जरुरी देखिन्छ ।

    घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij