काठमाडौं । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।
बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ ।
तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दै यता कर्जा लगानी जम्मा ५० खर्ब ८७ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी गरेका छन् ।
माघ २५ गतेसम्म ८०.३५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंक तथा वित्त कम्पनीहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ ।
यसले पनि आगामी महिनाका लागि ब्याजदर घटाउने दबाबमा बैंकहरु देखिएका हुन् ।