शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सफलताको कथा

सुन्तला बेचेरै कमलले कमाए ४० लाख


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/6698
    फागुन ४, २०८० शुक्रबार
    सुन्तला बेचेरै कमलले कमाए ४० लाख

    दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।

    विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् ।

    उनले भने, “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।”

    उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् ।

    उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।

    उनले भने, “गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।” नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ ।

    महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुंुँ करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो ।

    उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए ।

    उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरिद गरी रु एक सय २० सम्म बिक्री गर्ने गरेको सुनाए । तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन् ।

    जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।

    कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ ।

    सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

    धितालले भने , “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।” तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् ।

    सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij