काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा आइतबार छलफल भए पनि सहमति जुट्न सकेन ।
आजै टुंगो लगाउने भनिए पनि दुईवटा विषयमा सरकारले समय मागेपछि सहमति नभई आजको बैठक सकिएको हो । विधेयकमा राखिएको ‘स्वेच्छाचारी हत्या’ शब्दबारे कुरा नमिलेको हो ।
कानुनमन्त्री धनराज गुरुङले यो शब्द मिलाएर राख्नुपर्ने बताए । उनले भनेका थिए, ‘यसमा नियतवश स्वेच्छाचारी रूपमा गरिएको हत्या राखौँ । 'स्वतन्त्र सहमति नभएमा के गर्ने ?' हुनुपर्छ भन्ने छ । सकेसम्म मिलेर जाने कुरा छ । घटी सजायमा फेरि सल्लाह गर्न समय चाहियो । सरकारको तर्फबाट समय मागियो ।’
समिति सभापति विमला सुवेदीले समितिको आगामी बैठकबाट प्रतिवेदन पारित हुने बताइन् । उनले भनिन्, ‘आगामी बैठकमा कानुन मन्त्रालय र समिति सचिवालयले पेस गर्ने र पास गर्ने ।’ बैठकको मिति भने तय भएको छैन । अर्को बैठकको मितिबारे समितिले सूचना जारी गर्नेछ ।