नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।
यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टिन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । शाहसीक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने बताए ।
डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीे बताएका छन् । नेपालमा कोरोना संक्रमणको दर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वारेन्टिनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवासयीहरुले बताएका छन् ।
कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो । अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन् ।