बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

समाचार

महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/7333
    चैत ९, २०८० शुक्रबार
    महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी

    काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिरी जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ । यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाड्ने तयारी भएको उनको भनाइ छ ।

    उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रहयो । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।

    स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो । गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो ।

    उनलाई चैत ५ मै काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

    गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो ।

    सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    सोही सिफारिसपछि उनलाई सिआइबीले पक्राउ गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij