काठमाडौं । नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता-कार्यकर्तालाई माफी दिने तयारी थालेको छ ।
कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने भएको हो ।
कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र जसपाका उम्मेदवारविरुद्ध बागी दिएकालाई माफी दिने तयारी छ ।
यस्तै गत मंसिरमा ४ मा भएको आम निर्वाचनमा गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका उम्मेदवारविरुद्ध उभिएका कांग्रेस नेता-कार्यकर्ताले पनि माफी पाउने छन् ।
गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कांग्रेसले पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासित गरेको थियो ।
गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट अजय द्विवेदी, रामकुमार राई, राजन कुँवर, महादेव गुरुङ, धर्मराज पोखरेल लगायतका नेता कारबाहीमा परेका छन् ।
कांग्रेस अनुशासन समितिका सदस्य सञ्जय गौतमले आगामी चैत १५ गते बस्ने बैठकले कारबाहीको सिफारिसको वर्गीकरण गर्ने बताए ।