मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् ।
नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् । साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ ।
क्षय रोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताए ।
“जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उनले भने, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् ।
यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए ।