काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता दल र व्यक्ति छानेर गर्ने बताएका छन् ।
आज (सोमबार) बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले आवश्यक परेका बेला कम्युनिष्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने आवश्यक्ता रहेको बताए ।
‘यतिबेला राष्ट्रिय शक्ति मिलेर सुशासन र समृद्धिको बाटोतर्फको एकता आजको आवश्यक्ता हो। वामपन्थीका नामको एकता भन्ने कुरा होइन,’ ओलीले भने, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ न देश चल्छ ।’
उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्दै पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए ।
उनले भने, ‘परेको बखतमा एकता गर्छौँ, तर छानेर । पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ ।’