शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

२० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली अब जान पाउने

पुनः भाषा परीक्षा दिएर प्रक्रिया सुरु गर्नुपर्ने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/799
    असोज ६, २०७८ बुधबार
    २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली अब जान पाउने

    काठमाडौं । झन्डै २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली पठाउने क्रम कात्तिक १५ भित्रै सुरु हुने भएको छ । वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच अक्टोबर (कात्तिक १५) भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो ।

    ‘कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै श्रमिक पठाउने प्रक्रिया सुरु गर्छौं भन्नुभएको छ । यो अनौपचारिक कुरा हो । लिखित जानकारी दिइसक्नुभएको छैन । उहाँहरूका सबै सर्त पूरा भइसकेकाले अब श्रमिक नलानुपर्ने कारण छैन’, छलफलमा सहभागी एक अधिकारीले भने । 

    कोरियाले श्रमिक लान राखेका सबै सर्त सरकारले पूरा गरिसकेको छ । सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न यसअघि नै टेन्डर आह्वान भइसकेको छ । गत भदौ २ गतेदेखि ३१ गतेसम्मको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो । अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको ईपीएस शाखाका निर्देशक सुरेश राउतले बताए । 

    अर्को सर्त कोरोना बिमा गर्नुपर्ने थियो । त्यसका लागि पनि बिमा कम्पनी सूचीकृत भइसकेका छन् । दक्षिण कोरिया जाने कामदारले त्यहाँ पुगेको मितिबाट १४ दिन सम्मको बिमा गर्न ६ वटा बिमा कम्पनी सूचीकृत भएका हुन् । ईपीएस शाखाका अनुसार अडोज इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत बिमा गर्न सकिने भएको हो ।  

    दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ । त्यस विषयमा पनि छलफल भइरहेको निर्देशक राउतले जानकारी दिए । सीधै कोरिया उडानमार्फत श्रमिक पठाउन सरकारले कार्यविधि नै संशोधन गरेको थियो । यसअघि ट्रान्जिट उडानमार्फत पनि जान सकिने व्यवस्था थियो । त्यसरी जाँदा सस्तो पथ्र्यो । कोरियाले राखेका सर्तअनुसार बढी खर्च गरेर जान पनि श्रमिक तयार भएका छन् । 

    भाषा परीक्षा पास गरेका र सबै प्रक्रिया पूरा भए पनि जान नपाउने डरले श्रमिकले संगठित रूपमै सरकारको ध्यानाकर्षण गराइरहेका छन् । करिब ७ हजार नियमित र ३ हजार पुनः जाने तयारीमा श्रमिक रोकिएका छन् । यहीबीच कतिपयको म्याद सकिएको छ । उनीहरू भने अहिले जान पाउने छैनन् । पुनः भाषा परीक्षा दिएर प्रक्रिया सुरु गर्नुपर्नेछ । 

    कोरोनाको जोखिम बढेपछि सरकारले २०७६ फागुन अन्तिममा सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि दक्षिण कोरिया जानेहरू पनि रोकिएका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij