बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/8337
    चैत १, २०८१ शुक्रबार
    पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ

     काठमाडौं । पाल्पा रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

    रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । किसानलाई ५० प्रतिशत अनुदानमा तीन वटै जातको प्रतिकिलो ७६ रुपैयाँमा नगरपालिकामार्फत उपलब्ध गराइएको उनी बताउँछन् ।
     
    नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उनले बताए । उनका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो । सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही फागुन ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ । 

    रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउ बिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।  ‘कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले विभिन्न जातका बीउ बिजन खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएका छौँ, किसानले माग गरेअनुसार बीउ बिजन पाउनुभएको छ’, नगरप्रमुख थापाले भने, ‘बाहिर बजारमा महँगो मूल्यमा खरिद गर्नुभन्दा सहुलियतमा किसानलाई राहत होस् भनेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।’

    धान, गहुँ, मकै, तरकारीलगायत विभिन्न जातका बीउ बिजन, बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि किसानलाई एग्रोभेटमा महँगो मूल्यमा खरिद गर्नु परेन । उन्नत जातका बीउ बिजन समयमा नै नगरपालिका कार्यालयमार्फत सहुलियतमा पाउँदा बालीनाली लगाउने समय बीउ खरिद गर्न किसानलाई अन्यत्र भतारिनुपर्ने अवस्था हटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij