काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (सोमबार) देखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन् । सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ । गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ । अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ ।
दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो ।
ती काउन्टरहरुमा कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको छ,’ सिटौलाले भने, ‘सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने छ ।’
अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ । सरकारले दसैंका लागि सवारी साधनको नयाँ भाडादरसमेत निर्धारण गरिसेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन् ।
ती सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गरिने प्रहरीले जनाएको छ ।
दसैंको लागि अग्रिम टिकट बुकिङ खुला भए पनि वर्षाका कारण क्षतिग्रस्त कतिपय सडक अझै मर्मत भएका छैनन् । बाढीपहिरोले क्षति गरेका सडकमा सवारी साधन सञ्चालन गर्न समस्या हुने भन्दै यातायात व्यवसायीले सडक मर्मत गर्न माग गर्दै आएका छन् ।