काठमाडौं । आज (सोमबार) बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७३ यात्रु लिएर बुद्ध एयरको जहाज विराटनगरका लागि उड्यो । तर ल्यान्डिङ गियर (अवतरण गर्ने प्रविधि)मा समस्या आएपछि जहाज त्यहाँ अवतरण हुन सकेन ।
जसले गर्दा जहाज पुनः काठमाडौं नै फर्कियो । तर समस्या उही– अवतरण हुन सकेन । जसले गर्दा जहाज केही समय काठमाडौंकै आकाशमा घुमिरह्यो ।
सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय (झन्डै २ घण्टा) आकाशमै होल्ड हुन परेको हो ।
काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । जसले गर्दा बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ ।